उच्च रक्तचाप विश्वव्यापी प्रमुख स्वास्थ्य समस्या मध्ये एक हो । विश्वभरमा हरेक वर्ष उच्च रक्तचापकै कारण ७५ लाख भन्दा धेरै मानिसको ज्यान जाने गरेको छ । यो समग्रमा विभिन्न रोगका कारण हुने मृत्युको १२.८ प्रतिशत हो ।
उच्च रक्तचाप मुटु सम्बन्धी रोगको प्रमुख रिस्क फ्याक्टर (जोखिमको प्रमुख कारण) हो । यस्तै उच्च रक्तचापका कारण शरीरको रक्त सञ्चारमा पनि असर पर्छ । यसका कारण स्ट्रोक हुने सम्भावना पनि बढी रहन्छ ।
विश्वभर नै उच्च रक्तचाप भएका व्यक्तिको संख्या बढ्दै गएको छ र यसले गर्दा चासो पनि । यहि चासोका कारण बेलाबेलामा रक्तचाप नाप्ने क्रम पनि बढेको छ ।
तर रक्तचाप नाप्दा हुने मसिना कमजोरीका कारण भएको भन्दा धेरै रक्तचाप देखिने गरेको छ । यस्ता कमजोरीलाई सजिलै हटाउन सकिन्छ ।
रक्तचाप बढी देखाउने सात कारण
१) रक्तचाप नापिरहेका बेला बोलिरह्यो भने वास्तविक भन्दा धेरै देखिन्छ । रक्तचाप नाप्दै गर्दा मौन बस्नु उपयुक्त हुन्छ ।
२) रक्तचाप नाप्ने मेसिन (सिग्मोमेनोमिटर) को कफ (बिपी कफ) सर्ट वा लगाएको लुगाको बाहुला माथिबाट बाँधिएको छ भने रक्तचापको सही नाप आउँदैन । बिपी कफले रक्त चाप नापिने व्यक्तिको छालालाई छुनु पर्छ ।
३) बिपी कफ लगाएपछि हात झुण्ड्याउन वा माथि उठाउन हुँदैन । बाँधिएको कफ मुटुको समानान्तर हुने गरी हातको पोजिसन मिलाउनु पर्छ ।
४) रक्तचाप लिँदै गर्दाको बसाईले पनि नतिजालाई प्रभावित गर्छ । निहुरी परेर होइन सीधा हुने गरी बस्नु पर्छ ।
५) खुट्टाको पोजिसनले पनि रक्तचापलाई प्रभावित पार्छ, रक्तचाप जाँच भइरहेका बेला खुट्टा खप्ट्याएर बस्नु हुँदैन । दुवै खुट्टा स्वतन्त्र हुनु पर्छ । खुट्टा जमिन वा बसेको स्टुलको टेक्ने ठाउँमा आड लागेको हुनुपर्छ ।
६) बिपी कफको आकार सोनो भएमा पनि रक्तचाप सही आउँदैन । बिपी कफ रक्तचाप जाँच गर्ने व्यक्तिको पाखुरामा नमिल्ने (सानो वा साँघुरो) भएमा रक्तचाप बढी देखिन्छ ।
त्यसैले बिपी कफ मिल्ने खालको हुनु पर्छ । आफूलाई सानो भए जस्तो लागेमा मिल्ने बिपी कफ ल्याउनका लागि डाक्टर वा नर्ससँग आग्रह गर्न हिचकिचाउनु हुँदैन ।
७) पिसाबले च्यापेका बेला पनि रक्तचाप नाप्नु हुँदैन । पिसाब लागेका बेला रक्तचाप नापेमा बढी देखिन्छ । रक्तचाप नाप्नुअघि पिसाब गर्नुपर्छ ।