त्रिचन्द्रले मन्त्री र प्रधानमन्त्री जन्मायो तर घन्टाघरप्रति चासो दिएनन् : गणेश सापकोटा [भिडिओ]

मेरो जन्म काठमाडौँमा नै भएको हो । साङ्ला गाविस वडा नम्बर १ हालको तारकेश्वर नगरपालिमा जन्मिएको हुँ । तर, अहिले बलम्बु बस्छु । त्यहाँ दुईवटा घर बनाएको छु । पढाई धेरै नभएपनि दश कक्षासम्म अध्ययन गरेको छु । घर छोड्दा बाह्र वर्षको थिए । म कामकै सिलसिलामा सहर आएको हुँ । यतै बस्न थालेको हुँ । त्रिचन्द्र क्याम्पस अर्थात् घन्टाघरसँगको सम्बन्ध मेरो २०३७ सालदेखि नै हो । ०३७ साल साउन २१ गते त्रिचन्द्रमा प्राविधिकको रुपमा जागिरमा प्रवेश गरेको हुँ । सुरुमा ल्याबतिर काम गरेँ । इलेक्ट्रिकल मेकानिकतिर सामान्य ज्ञान थियो । पछि क्याम्पसमा पनि इलेक्ट्रिक क्षेत्रमै काम गर्न थालेँ । घन्टाघरसँगको सम्बन्ध चाहिँ अलिक रोचक छ ।

०३९ सालतिरको कुरा हो । एक पटक घन्टाघरमा आगलागी भएको थियो । त्यसपछि राम्रोसँग चलेको थिएन । त्यसबेला घडीको सुई र घन्टा बजेको सुनेर टुँडिखेलमा नेपाली सेनाले तोप पड्काउने गर्दथ्यो । आगलागी भएपछि त्यहाँ प्राविधिकको अभाव भयो । पहिला एकजना अस्थायी मिस्त्री थिए । आगलागी भएको एक डेढ वर्षपछि उहाँको म्याद थप भएन । उहाँ जानुभयो । उहाँ गएपछि घन्टाघर सञ्चालन गर्ने प्राविधिकको अभाव भयो ।

तर, त्यसको लामो समयपछि ०४४ सालमा कमलादीको प्रज्ञा भवनमा सार्क सम्मेलन हुने भएपछि एक घन्टाका लागि भए पनि घन्टाघर खोल्नुपर्ने आदेश आयो । खोल्नुपर्‍यो भनेर दौडधुप सुरु भयो । अन्चलाधीशको कार्यालयले कसरी चलाउने भनेर मिस्त्रीको खोजी सुरु गरेको थियो । सोहीबेलादेखि घन्टाघरसँग मेरो सम्बन्ध जोडिन पुगेको हो ।

घन्टाघरसँगको सम्बन्ध
घन्टाघर चलाउन सक्ने प्राविधिकको खोजी गर्ने काम गर्न डेढ महिना जति लाग्यो । तर, चलाउन सक्छु भन्ने कोही भेटिएन । म चाहिँ सबै मेसिनहरु मर्मत गर्ने काम गरिरहेको हुन्थेँ । जागिरका अतिरिक्त समय म यस्तै पार्ट टाइम पनि गर्थें । सार्क सम्मेलन सुरु हुन १५ दिन बाँकी थियो । सोहीबेला कतैबाट मलाई घन्टाघर चलाउन सक्छौँ भन्ने प्रस्ताव आयो । मलाई आपत पर्‍यो । तर, बच्चा बेलादेखि नै म टेक्निकल काममा रुची राख्ने गर्दथेँ । जुनसुकै काम पनि हुन्न नभनी हात हालिहाल्ने बानी थियो । त्यसैले मैले सक्छु भनेँ । सक्छु त भनिहाले तर मैले घन्टाघरको मेसिन देखेको थिएन । सक्छु भनेर माथि चढेँ । माथि जाँदा त मेसिन देखिन । डर लाग्यो । एक दुई घन्टासम्म चारैतिर हेरेर मात्र बसिरहेँ ।

बस्दै गएपछि भएका यन्त्रहरु यताउता हेर्न र छुन थाले । त्यहाँ रहेको पेन्डुलम भन्ने मेसिन हल्लाए । त्यो मेसिन एक पटक हल्लाएपछि पाँचसात मिनेट चलेर बन्द हुने रहेछ । पटक पटक हल्लाए । गर्दागर्दै १३ दिन १३ रात २४सैँ घन्टा त्यहीँ माथि नै बसेँ ।

कति मिनेटमा कहाँनेर गएर काँटा अड्डिन्छ हेरेरै बसेँ । गहिरो अध्ययन गरेर १३ दिन बिताए । भएका दाँतीहरु सबै गहिरो अध्ययन गरेर बिताए । हुँदाहुँदा १३ दिनमा चाहिँ एकचोटी चलाएपछि दुईतीन दिन चल्न सक्ने बनाए । सार्क सम्मेलन कात्तिकको १९–२० गते तिर थियो । सम्मेलनपछि म तल ओर्लिएँ । त्यहाँ मैले घन्टाका रोगहरु पत्ता लगाए । पछि ति पार्टहरुलाई बनाएर ल्याए र फिट गरेँ । त्यसपछि दुईचार महिना चल्ने भयो । त्यसपछि फेरि बिग्रिन्छ बनाउँदै जाने गरेँ । यसरी मेरा तीन दशक घन्टाघरमै बित्यो ।

यसरी नै घन्टाघर चलाउँदा चलाउँदै पोहोर सालसम्म अवकाश लिएँ । एक वर्ष बित्यो घन्टाघरबाट बिदा लिएको । जागिरे रहँदा धेरै अनुभवहरु बटुल्ने मौका मिल्यो । किनकी त्यहाँका मेसिनहरुमध्ये कतिपयलाई तारले बाँधेको छु । कुनै दाँते नै रद्द गराएको छु । जबरजस्ती पनि चलाएको छु । म त्रिचन्द्रमा प्रवेश गर्दा शिवशंकर सिंह क्याम्पस प्रमुख हुनुहुन्थ्यो । उहाँले ०३९ सालतिर अवकास लिनुभयो । झन्डै १२–१५ जना नै प्रमुख परिवर्तन भइसक्नु भएजस्तो लाग्छ । त्यसमध्ये धेरैलाई घन्टाघरबारे खासै चिन्ता लागेन ।

दम दिए चल्छ घन्टा
काठमाडौँको घन्टाघर सन् १८९४ मा राणा प्रधानमन्त्री वीरशमशेरको शासनकालमा निर्माण गरिएको हो भन्ने मलाई थाहा छ । परम्परागत र मौलिक पाराको घन्टाघरका अधिकांश यन्त्रहरु पम्प दिएका भरमा चल्छन् । यो ब्याट्री वा बिजुलीबाट चल्दैन । घन्टाघरको घडीमा हातैले दम दिनुपर्छ । दम दिने भनेको फलामको ह्यान्डलले मिलको चक्का घुमाएजस्तो घुमाउने हो । अर्थात् कुनै कुनै ट्याक्टर गाडीलाई पनि त्यसरी नै दम दिनुपर्छ नि । जेनेटर चलाउदा पनि ह्यान्डलबाट दम दिनुपर्छ नि । त्यस्तै हो ।

त्यहाँभित्रको घडी चलाउन झन्डै ३०–३५ किलोभन्दा अझ बढी सामान उचालेजस्तो हुन्छ । दम दिएपछि ८४ फिट तल जाने र दम दिएपछि माथि आउने गर्छ । माथि पुगेपछि एक हप्ता घडी चल्छ । जति घुमायो, फलामको डल्लो जस्तो चक्का उति माथि आउँछ । यसकै भारले घडीको सुई घुम्छ र सुई सर्दै जान्छ । त्यो फलामको डल्लो पनि तल झर्दै जान्छ । घन्टा हान्नका लागि नौ वटा चक्का छन् । त्यो पनि तलबाट दम दिएर माथि उठाउने हो । क्वाटर हान्नका लागि पनि १३ वटा चक्का छन् । त्यसलाई नि दम दिएर माथि उठाएपछि एक हप्ता पुग्छ । सारै गाह्रो हुने भएकाले दुईजनाले हप्ताको दुई दिन दम दिनुपर्दथ्यो । म चाहिँ बिग्रियो भने हेर्ने गरेको थिए । दम दिनका लागि अरु पनि साथीहरु थिए ।

कसैलाई माया छैन घन्टाघरको
विदेशतिर पनि यस्तो टावरहरु अर्थात् घन्टाघर त हुने रहेछ । तर, ति व्यवस्थित छन् रे । तर यहाँ हाम्रोमा यस्तो काम गर्नेलाई तालिम दिनुपर्छ भन्नेमा कसैले चासो दिएनन् । त्रिचन्द्र क्याम्पसमा पढेका धेरै विद्यार्थीहरु देशको उच्च पदमा पुगे तर चासो दिएनन् । विशिष्ट तहका कर्मचारीहरु, मन्त्री, प्रधानमन्त्री न्यायाधीश त्रिचन्द्रकै उत्पादन छन् । तर, तिनीहरुका आँखा घडीमा पुगेन । शेरबहादुर देउवा, प्रकाशमान सिंह, गगन थापा जस्ता धेरैजना त्रिचन्द्रमै पढेका हुन् । तर, तिनीहरुको आँखा कहिल्यै त्यहाँ पुगेन ।

घन्टाघरलाई खासै खर्च त लाग्ने थिएन । मैले बुझेसम्म र अनुभव गरेसम्म वर्षमा दुईदेखि तीन हजार मात्र मर्मतको लागि खर्च हुन्थ्यो । एकचोटी १२ हजार रुपैयाँ खर्च भएको याद छ ०७२ सालको भूकम्पमा घन्टाघरका धेरै संरचनाहरु भत्किएका र भाँचिएका थिए । त्यसबेला पनि बेला १५ हजार तिरेर ल्याइएको हो । पेस्की मैले नै दश हजार रुपैयाँ बुझेको हुँ तर पाँच हजार भुक्तानी नै भएन । पछि क्याम्पस प्रमुखसँग विवाद भएपछि भुक्तानी भयो । घन्टाघरका लागि पैसा नभएर होइन । सकेसम्म जिम्मा नलिउ भन्ने सोच भएकाले समस्या आउने गरेको हो । पछि पछि मिडियामा कुरा आउन थालेपछि सबैको नजर परेको हो । मेरै अन्तर्वार्ताका कारण पनि धेरैलाई प्रेसर परेको हुनुपर्छ ।

एकपटक अन्नपूर्ण पोष्टमा ‘घाँडो घण्टाघर’ शिर्षकमा समाचार प्रकाशित भएपछि महानगरपालिकाले चासो लिएको थियो । महानगरले छलफलका लागि भनेर त्यसबेला क्याम्पस प्रमुख हरि थपलियालाई समेत बोलाइएको थियो । मलाई पनि बोलाइएको थियो । छलफलमा महानगरपालिकाले अबदेखि घण्टाघर आफैं हेर्ने भनेको थियो । सम्पूर्ण जे जति मर्मत गर्नुपर्छ त्यो हामी गर्छौं भन्नुभयो । र सबै कुराको राय सल्लाह लिने काम भयो । त्यसपछि अवकाश हुनुभन्दा अगाडि एकजना मान्छे हामी दिन्छौं उसले पनि तपाईंले जस्तै चलाउन सक्ने बनाउनुपर्यो । तालीम दिनुपर्यो भन्नुभएको थियो । त्यसको हप्ता दिनमै महानगरका कर्मचारीहरु आएर रंगरोगन गरेका थिए । तर रंगरोगन गरेर फर्किएकाहरु आजसम्म फेरि घन्टाघरमा पाइला टेकेको थाहा छैन् ।

३५ वर्ष खिचापोखरीमा डेरा
हुनतः घन्टाघरको लागि आवश्यक पर्ने सामानहरु सबै पाइँदैन । सबै आफैँले बनाउनुपर्छ । कुनै आफूले बनाउन नमिल्ने चाहिँ बनाएर ल्याउनुपर्छ । कुन बेला विग्रिन्छ टुंगो हुँदैन । उसबेला पर्याप्त गाडीहरु थिएनन् । बाटोघाटो थिएन । घर टाढा भएकाले म खिचापोखरीको एउटा अग्लो घरमा डेरा गरेर बसेको थिए । त्यो बेला म बस्ने घर ६ तलाको थियो । त्यहीँ घरको छतमा उक्लिएर राति सुत्नुभन्दा अगाडि घन्टाघरको घन्टी सुन्ने गर्थें । बिहानै सबेरै उठेर घन्टाघरमै पुग्थेँ । करिब ३०–३५ वर्ष सोही घरमा बिताए । सायद पिंजडामा थुनिए जस्तै जीवन थियो मेरो । जुनसुकै बेला घन्टाघर बिग्रिने भएकाले तयारी अवस्थामा बस्नुपर्दथ्यो । महिनौँ महिनासम्म घर जान पाउदिन थिएँ ।

एक पटक प्रेस लो भएर ढलेछु । त्यसपछि घर परिवारले गाली गर्न थाले । अनिमात्र बल्ल घर जान थालेको हुँ । म बस्नका लागि डेरामै बसेको हो । तर, सधैँ सत्य नै बोल्ने भएर होला मसँग कसैले कोठा भाडा मागेन । जुन घरमा बसेँ त्यो घरमा बिग्रिएका सामनाहरु बनाइदिन्थें । बिग्रेका कुराहरु मर्मत गर्थेँ र मर्मत गरेको पैसा लिइँदैन थिए । उनीहरु पनि भाडा माग्दैन थिए । मैले ४२ वर्ष प्राविधिक वा इलेक्ट्रिसियनकै रुपमा काम गरेँ । सुरुमा मैले जागिर खाँदा मेरो तलब महिनाको १५० रुपैयाँ थियो, अवकाश हुँदाखेरी ४४ हजार चानचुन पुगेको थियो ।

बेबारिसे हुने चिन्ता
तीन दशक संरक्षण गरेर राखेको घण्टाघर पूरै वेवारिसे हुने चिन्ता लागिरहन्छ । कसैले जिम्मा जिम्मा लिनुपर्छ भन्ने लाग्छ । कसैले जिम्मा लिएर जर्गेना गर्नुपर्छ । किनभने उ बेला घडीको महत्त्व थियो । अहिले त मान्छेको हातहातमा घडी र खल्तीमा मोबाइल छ । समयको महत्त्व छैन । तर, घन्टाघर ऐतिहासिक भएकाले जोगाएर राख्नु हामी सबैको कर्तव्य हो । यो ऐतिहासिक सम्पदालाई पुरातत्व विभागले हेर्नुपर्ने हो तर हेरेन । सय वर्ष नपुगी पुरातत्वले पनि नहेर्ने भनेको रहेछ । बिबिसीले अन्तरवार्ता लिँदा पनि पुरातत्वले जिम्मेवारी लिनुपर्छ भनेको थियो । तर, भएन ।

अहिले प्रवलीकरण भइरहेको घन्टाघर पहिलाको जस्तै निर्माण हुन्छ । तर, यहाँका सामग्रीहरु सुरक्षित हुन्छन् कि हुँदैनन् भन्ने चिन्ता छ । यतिका वर्ष घन्टाघरको सेवामा बिताएको मलाई भर्खरै मात्र सबैले चिन्न थाल्नुभएको छ । घन्टाघरलाई चिन्नु होला कि नहोला भन्ने चिन्ता छ । तर, हाम्रो समाजमा कामको मूल्यांकन हुँदैन । घन्टाघरलाई के गर्ने, कसरी अगाडि बढाउने भनेर कर्मचारी दिएको भए उसलाई सिकाएर तयारी अवस्थामा राख्न सक्थें ।

अहिले दुईचार दिन, दुई चार महिना सिकाएर सिक्ने कुरा होइन । दुई चार वर्ष सिकाउन नै लाग्छ । यसलाई सरकार पक्षबाट कसैले वास्ता गरेको छैन । नगरपालिकाले पनि वास्ता गरेको छैन । अब क्याम्पसले आफ्नो हाताभित्र रहेर तलव दिलायो तर संरक्षणमा चासो दिएन । मैले ३६५ दिन नै ड्यूटी गरेँ । २४ घन्टा नै हेनुपर्छ भनेर मौखिक सम्झौता भएका हुनाले रातदिन खटेँ । जिम्मेवारी लिएदेखि काठमाडौँ बाहिर बसेको भनेको अवकाश लिएपछि मात्र हो । नत्र कुवाको भ्यागुतो जस्तै म घन्टाघरकै रेखदेखमा हुन्थेँ । साँच्चै भन्ने हो भने त एक किसिमले पिंजडामा बसे जस्तो गरी ३५ वर्ष कटाएँ । एक किसिमले गर्व पनि लाग्छ । घन्टाघरसँग मेरो नाम जोडिएकाले खुसी पनि छु ।

किरिया बस्दा मात्र बिदा
यतिका वर्ष घन्टाघरको जिम्मेवारी लिएर बसेँ । भाग्यले भन्नुपर्छ बिरामी भएर हस्पिटल भर्ना हुनुपरेको रेर्कड अहिलेसम्म छैन । त्यति ठुलो बिरामी नि परिएको छैन । भगवानको कृपा भनौं अहिलेसम्म सकुशल छु । नत्र, ३६५ दिनमा ३६४ दिनै क्याम्पसमा हाजिर भएको छु । आमाको निधन भएका बेला १३ दिन बिदा बसेँ । बुवाको मृत्यु भएका बेलामा १३ दिन घर बसेँ । बुवा बितेको बेलामा त घन्टाघर बन्द नै भयो । आमाको किरियामा बसेका बेलामा चाहिँ फाट्टफुट्ट चल्या थियो । आमा निधन भएको ०५१ सालमा हो । बुवाको निधन ०७९ सालमा हो । बीचमा छोरालाई नी दुई चार महिना ल्याएर सिकाएको थिएँ । बन्द भएको बेलामा गएर चलाइदिनु भनेर सिकाएको हुँ । पछि छोराले नि इच्छा राखेन ।

मेरो इज्जत नै घन्टाघरमा जोडिएको छ । म बाँचुन्जेल घन्टाघर चलिरहोस भन्ने लाग्छ । घडी चलिरहेको देख्न पाइयोस भन्ने ठुलो इच्छा छ । इच्छा भएर र आफूले चाहेर पनि कतिपय कुराहरु हुँदो रहेनछ । पुर्‍याउन सकिँदो रहेनछ । अब म सधैँ गएर बस्न नि सक्दिनँ । कुनै निकायले जिम्मा लिएर, मान्छे दिन्छौँ, सिकाइ दे भनेर जिम्मा दिएमा तयार छु । अझै पनि म गएर सिकाउन तयार छु । मैले त्रिचन्द्र अर्थात् घन्टाघरमै जागिर खाएर छोराछोरी पढाए । काठमाडौँ आएर र यहीँ बसेर दुःख सुख जीवन गुजारें । बुबा–आमाबाट अंश लिएको चार वर्ष मात्र हुँदै छ । नत्र पहिलै मैले घर घरेडी जोडिसकेको थिए । आफ्नै पसिनाले आफ्नो बन्दोबस्ती गरिसकेको थिए ।

अब सक्दिनँ
मलाई अब घन्टाघरको जिम्मेवारी दिएपनि मेरो उमेरले सक्दैन । म ६५ वर्षको भइसकेँ । घन्टाघरको माथि तल जान आउन नै म सक्दिनँ । ८०–९० फिट माथि छ । तलमाथि गर्नै गाह्रो हुन्छ । तर, पनि जिम्मेवारी लिने कुनै निकाय आयो भने चाहिँ सिकाइदिन म अझै पनि सक्छु । पुरानै घन्टाघर चलाउने हो भने सिकाएरै मर्न तयार छु ।

घन्टाघरमा काम गर्दा उच्च पदका मानिसहरुसँग खासै भेट भएन । कसैलाई चासो नै छैन । त्यसमाथि म एउटा कामदार मात्र हुँ । भेट्न जरुरी ठानेन होला । मभन्दा अगाडि रत्नमान भन्ने व्यक्ति घन्टाघरको रेखदेखमा हुनुहुन्थ्यो । उहाँ नि पाको हुनुभयो होला । रामेश्वर ढकालले पनि काम गर्नुभएको हो । कर्मचारी नहुँदा इन्डियाबाट मिस्त्री ल्याएर पनि घन्टाघर चलाइएको थियो रे । त्यो सधैँ सम्भव नहोला ।

अहिले घन्टाघरको रेट्रोफिटिङ गरिदैछ । काम सकिएपछि महानगरले चासो लियो भने पुनःसुचारु होला नत्र घन्टाघर सधैँका लागि बन्द पनि हुनसक्छ । पुरानै यन्त्रहरु राखेर घन्टाघर चलाउनलाई मिस्त्री तयार गर्नलाई अब निकै कठिन छ । तरपनि असम्भव भन्ने कुरा छैन । हुनतः इलेक्ट्रिक घडी ल्याएर राख्नपनि सक्छन् । यसै भन्न सकिँदैन । ऐतिहासिक र पुरातात्वीक महत्त्वको भएकाले पुरानोलाई नै चलाउनुपर्ने हो ।

(घन्टाघरका अनुभवी र अवकास प्राप्त प्राविधिक गणेश सापकोटासँग नेपाल न्यूज बैंकका युवराज गौतमसँग गरिएको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *