कूटनीतिक नियोगहरु नहुँदा अफ्रिकामा नेपालीहरुले दुःख पाइरहेका छन् : हिक्मत थापा [भिडिओ]

कूटनीतिक नियोगहरु नहुँदा अफ्रिकामा नेपालीहरुले दुःख पाइरहेका छन् : हिक्मत थापा [भिडिओ]

हिक्मत थापा विगत दुई दशकदेखि अफ्रिकाको नाइजेरियामा बसेर व्यवसाय गर्दै आइरहनुभएको छ । लेखक एवम् साहित्यकार साथै सामाजिक अभियन्ताको समेत परिचय बनाउनुभएका थापा गैरआवासीय नेपाली संघ (एनआरएन)लाई अफ्रिका महादेशमा विस्तार गर्न, समस्या परेका नेपालीको उद्धार गर्न, नेपालको पर्यटन प्रवर्द्धन गर्न साथै प्रत्यक्ष वैदेशिक लगानी स्वदेश भित्र्याउने काममा समेत सक्रिय हुनुहुन्छ । हालै नेपाल आएको मौकामा नेपाल न्यूज बैंकले अफ्रिकामा नेपालीको अवस्थाबारे कुराकानी गरेको छ ।

लामो समयदेखि अफ्रिकामा हुनुहुन्छ । त्यहाँका नेपालीहरुको अवस्था कस्तो छ ? कसरी जीवन निर्वाह गरिरहेका छन् ?
१९ वर्षदेखि अफ्रिकामा बसोबास गरिरहेको छु । १० हजारभन्दा बढी नेपालीहरु अफ्रिकामा बसोबास गर्छन् । धेरैजसो नेपालीहरु विभिन्न सेक्टरमा विज्ञको रुपमा काम गरिहेका छन् । दक्ष जनशक्तिका रुपमा क्रियाशील छन् । डाक्टरदेखि लिएर इन्जिनियर, एकाउण्टेनहरु, सेफ, सेल्स मार्केटिङका विज्ञहरु र सेक्युरेटीमा थुप्रै नेपालीहरु काम गरिरहेका छन् । अपेक्षाकृत रुपमा अफ्रिका राम्रो छ । पछिल्लो समयमा मानव तस्करहरुले अफ्रिकालाई बाटो बनाएर बिच्चली बनाएको समाचारहरु आइरहेका छन् । मानव तस्करहरुले अफ्रिकाका कतिपय देशहरुमा नेपाली चेलीहरुलाई रेष्टुरेण्टहरुमा अवैध रुपमा नृत्य गर्न लगाइरहेका छन् । यो नयाँ समस्याको रुपमा आइरहेको छ । त्यस बाहेक सबै नेपालीले राम्रो गरिरहेका छन् । धेरै नेपालीहरु आफ्नै विजनेसमा व्यस्त छन् । कसैले उद्योग कसैले आफ्नै कम्पनी खोलेर व्यापारमा स्थापित हुनेक्रम बढिरहेको छ ।

नेपालीहरुको रोजाइमा अफ्रिकाका कुन देश प्राथमिकतामा छन् ?
पछिल्लो समय सेसेल्समा बढी नेपालीहरु बसोबास गरिरहेको अवस्था छ । सेसेल्स भनेको अफ्रिकाको सबैभन्दा सानो देश हो । जहाँ एक लाख जनसंख्या छ । साथै सम्पन्न देश पनि हो । यसैगरी दक्षिण अफ्रिकामा पनि नेपालीहरुको बसोबास राम्रो छ । नाइजेरियादेखि केन्या, युगाण्डा अन्य थुप्रै देशमा नेपालीहरु छन् ।

अफ्रिका र नेपालबीचको कूटनीतिक, व्यापारिक र सांस्कृतिक सम्बन्ध कस्तो छ ?
वास्तवमा भन्ने हो भने नेपाल र अफ्रिका जोडिएको छैन । नेपालका दुईवटा दूतावास छन् इजिप्टमा । महेन्द्र सरकारको पालामा मुख्य रुपमा इजिप्ट देश थियो । विशेषगरी त्यतिबेला त्यो दूतावासले अरब देशहरुलाई हेर्ने गर्दथ्यो । साउथ अफ्रिकामा भर्खरै दूताबास खुलेको छ । नेपालमा अरु अफ्रिकन देशहरुको दूताबास इजिप्ट बाहेक छैनन् । अरु दिल्लीमा छन् । ती देशहरुसँग दोहोरो व्यापार वा दोहोर पर्यटन प्रवर्द्धन खासै प्रभावकारी रुपमा भएको छैन । अहिले केही अफ्रिकन विद्यार्थीहरु काठमाडौँमा पढिरहेका छन् । सामान्य व्यापार छ । नेपालको पनि अफ्रिकासँग खासै राम्रो व्यापार छैन । तर, अब नेपालीहरुका लागि अफ्रिका रोजाइमा परिरहेको छ । यसबाट चाहिँ व्यापार र व्यवसाय बढ्छ भन्नेमा आशावादी हुन सकिन्छ ।

आउजाउमा नेपालीहरुलाई कतिको सहज छ ?
सजिलो त पक्कै छैन । किनभने सिधैं अफ्रिका जाने प्लाइट छैन । नेपालीहरुले भारतबाट जानुपर्ने अवस्था छ । पहिलेभन्दा धेरै कुरा परिवर्तन भएकाले भिसामा चाहिँ सहजता छ ।

नेपालीहरुको सांस्कृतिक परम्परा र जीवनशैली अफ्रिकी समाजसँग कसरी घुलमिल भएको छ ?
दक्षिण अफ्रिकामा त दोस्रो पुस्ताका नेपालीहरु छन् । ४० वर्षभन्दा बढी वर्षका नेपालीहरु स्थायी रुपमा अफ्रिका बसेका छन् । नेपाली संस्कृति दसैँ, तिहार कसैले बिर्सेका छैनन् । अरु देशमा पनि नेपाली पर्वहरुको बेला सबै मिलेर मनाउने चलन छ । यसैगरी अफ्रिकामा पनि नेपाली कलाकारहरु जाने चलन सुरु भएको छ । नेपाली संस्कृतिलाई पनि फैलाउने प्रयासहरु भइरहेका छन् । अफ्रिकन समाज भनेको काला जातिका मानिसहरुमात्र बसोबास गर्ने समाज हो । उनीहरु पनि प्रायः धेरै आदिवासी छन् । नेपाली जस्तै संस्कृति, खानपान र रमाउने प्रवृत्ति उनीहरुमा पनि छ । उनीहरु पनि हाम्रो संस्कृतिसँग धेरै नै घुलमिल भएका छन् । हाम्रो संस्कृति झल्काउने विषयमा कुनै असहज छैन । भाषा अंगेजी बोल्दा हुन्छ । त्यसैले अफ्रिकन समाजसँग घुलमिल हुन कठिनाइ छैन । त्यहाँको समाजमा संस्कृति र खानपानसँग घुलमिल हुन नेपालीहरुलाई अलिक गाह्रो छ । त्यहाँका सांस्कृतिक पर्वहरु अफ्ठ्यारो हुन्छन् । तर, उनीहरु हामीसँग घुलमिल हुन रुचाउँछन् ।

यतिबेला त्यहाँका नेपालीहरुले भोग्नु परिरहेको समस्या र चुनौतीहरु के के छन् ?
सबैभन्दा ठुलो चुनौती भनेको दूताबासको अभाव हो । अफ्रिकामा ५४ वटा देश छन् । पासपोर्टको समय सकियो भने या नयाँ पासपोर्ट लिनुपर्‍यो भने, श्रम स्वीकृति लिनुपर्‍यो भने दूताबास नहुँदा नेपालीहरुले धेरै समस्यासँग जुध्नुपरिरहेको छ । पीरमर्का पर्दा अरु देशका नागरिकहरुलाई दूताबासले सहयोग गर्दा नेपालीहरुलाई सहयोग गर्ने कोही हुँदैन । त्यहाँका देशहरुमा नेपाली जनसंख्या बढ्दै गइरहेको छ । अब विस्तारै समस्याहरु बढ्दै जान्छन् । त्यसैले नेपाल र अफ्रिकामा नेपाली र अफ्रिकी दूताबासहरु खोल्न आवश्यक छ । अफ्रिकामा दुईवटा मात्र छन् तर नेपालमा एउटा पनि छैन । यसका लागि हामीले आवाज उठाउँदै आइरहेका छौँ । नाइजेरिया, केन्यालगायतका देशहरुमा एम्बेसी खोल्न ढिला भइसक्यो । यसले नेपाली व्यक्तिलाई मात्र सहज हुने होइन व्यापारका सम्भावनाहरु पनि बढ्दै जान्छन् । पर्यटनका सम्भावनाहरु पनि थुप्रै छन् । आर्थिक हिसावमा थुप्रै देशहरु अगाडि बढिरहेका छन् । यसैगरी नेपाली उत्पादित वस्तुहरु पनि आयात निर्यात गर्न सजिलो हुन्छ र अर्थतन्त्र बढाउन सकिन्छ । कूटनीतिक सम्बन्धबाट दुवै देशले समन्वय गर्‍यो भने नेपाललाई धेरै कुरामा फाइदा हुन्छ ।

अफ्रिकामा रोजगारी पाउन नेपालीहरुलाई कतिको सहज छ ?
खासै त्यस्तो गाह्रो छैन । तयारी र योजनाअनुसार काम गर्न सक्नुपर्छ । आफ्नो काममा सीप हुनुपर्छ । जुनसुकै पेसा भएपनि त्यो पेसामा दक्ष हुनपर्‍यो । जुनसुकै पेसामा पनि दक्षहरुलाई काम पाउन गाह्रो छैन । आफैँ खोजेर अथवा हायरिङ् एजेन्सीहरुमार्फत् काम पाउन सकिन्छ ।

सुरक्षाको अवस्था चाहिँ कस्तो छ ?
नेपालीहरुलाई सुरक्षाको समस्या छैन । अफ्रिकामा ५४ वटा देशहरु छन् कुनै देश सम्पन्न छन् भने कुनै देश धेरै गरिबीमा छन् । कुनै देशमा तीव्र गतिमा विकास भइरहेको छ, कुनैमा अझै पनि लडाइँ छ । युद्धग्रस्त क्षेत्रमा नेपालीसँगै त्यहाँको नागरिकलाई पनि समस्या हुन्छ । नत्र भने सुरक्षा राम्रो नै छ । विगतमा युद्धको समयमा केही नेपालीहरुले ज्यान गुमाउनुपरेको थियो । यस्ता घटना कहिले काही हुन्छन् । नभए त्यस्तो खतराको अवस्था छैन ।

तपाईको अनुभवमा नेपाल र अफ्रिकाबीच के कस्तो भिन्नता पाउनुभयो ?
धेरै देशहरु छन्, जसमध्ये कुनै धेरै राम्रा छन् । कुनै नेपालको जस्तै ढिलो विकास, भ्रष्टाचार, राजनीतिक व्यवस्था राम्रो नभएका देशहरु पनि छन् । राम्रो देशको उदाहरण हेर्ने हो भने नेपालले सिक्ने धेरै कुराहरु छन् । २०–२५ वर्ष अगाडि हाम्रो देशजस्तै द्वन्द्वमा फसेका अझ नेपालभन्दा पनि नराम्रो अवस्थामा रहेका, नेपालभन्दा गरिब देश अहिले एकदमै तीव्र गतिमा अगाडि बढिरहेका छन् । नेपालको तुलनामा धेरै कम कच्चा पदार्थ भएका देशहरु पनि अगाडि लागेका छन् । त्यसैले हामीले सिक्ने कुराहरु धेरै छन् ।

अफ्रिकामा रहेका नेपाली युवाहरुहरुलाई स्वदेशमै फिर्ता गर्न सकिन्छ ? के चाहन्छन् उनीहरु ?
अफ्रिका मात्र होइन संसारभर नै रहेका पहिलो पुस्ताका नेपालीहरु नेपाल नै फर्कन चाहन्छन् । तर, दोस्रो पुस्ता उतै जन्मेको हुनाले उनीहरुलाई उतै राम्रो लाग्छ । सबैको नेपाल आउने सोच हुन्छ तर नेपालमा बस्ने, रोजगारी दिने वातावरण नै छैन । त्यो वातावरण बनेको भएहुन्थ्यो । नेपालमा बस्न पाए हुन्थ्यो भन्ने सबैको धारणा छ । नेपालमा पछिल्लो दिनमा केही सकारात्मक कामहरु भइरहेका छन् । यस्तै हुने हो भने सबै आउन चाहन्छन् ।

तपाईं लामो समयदेखि एनआरएनएको अभियानमा हुनुहुन्छ । यतिबेला यो संस्थाको अवस्थालाई कुन रुपमा हेरिरहनुभएको छ ?
म लामो समय एनआरएनएमा रहेर काम गरेँ । अफ्रिकाका थुप्रै देशहरुमा एनआरएनएका शाखाहरु विस्तार गर्न मैले पहल गरेको हुँ । एनआरएनएको दुईवटा काम हो । एउटा बाहिर भएका नेपालीहरुलाई अप्ठयारोमा सहयोग गर्ने र नेपाली साहित्य, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने हो । अर्को कुरा भनेको नेपालको समृद्धिका लागि एक अंशका रुपमा काम गर्ने हो । आफूले कमाएको पैसा मात्र होइन ज्ञान, अनुभव सबै नेपालमा लगानी गरेर नेपाललाई पनि समृद्धिको बाटोमा लाने हो । एनआरएनएको उद्देश्य पनि त्यही हो । एनआरएनए सही बाटोमा थियो । संस्था ठुलो भएपछि, सम्पन्न भएपछि गलत नियत भएका मान्छेहरुले आफ्नो व्यक्तिगत पैसा र राजनीतिक शक्ति प्रयोग गरेर संस्थामा आउन खोजे । जसले गर्दा राम्रो मनसाय लिएर काम गरिरहेकाहरु पछाडि परे ।

यसमा दुई नम्बरका तस्करहरु जसले मानवदेखि आर्थिक तस्करी गरिरहेका छन् । राजनीतिमा लागेका मान्छे अगाडि आउन खोज्दा झन समस्या हुँदै गयो । जसका कारण गलत प्रवृत्ति संस्थामा भित्रियो । त्यसपछि संस्था अहिले तीन, चारवटा समूहमा विभाजित छ । दुःख लाग्छ एनआरएनए भनेर गर्वका साथ हिँड्ने हामीहरु निराश छौँ । हामी चाहन्छौँ, प्रयास पनि जारी छ–एनआरएनए नेपालीका लागि बलियो बन्नुपर्छ । हुन्छ पनि होला, सधैँ गलतको मात्र विजय हुँदैन ।

संस्थालाई जोगाउन र सबैको साझा बनाउन के विधि अपनाउनुपर्छ होला ?
अदालतले पनि एउटा निकास दिन खोजिरहेको छ । तर, विशेष रुपमा एनआरएनएका नेतृत्वहरुले जसले संस्था स्थापना गरेको थिए उहाँहरुले आफ्नो व्यक्तिगत स्वार्थ अथवा नेपालको राजनीति जस्तै मेरो कब्जामा हुनुपर्‍यो अथवा मेरो मात्र नाम र फ्रेम हुनुपर्छ भन्ने छ तर त्यसरी हुँदैन । संस्था सबै नेपालीको हो । गैरआवासीय नेपालीले जे आर्जन गरे त्यसलाई नेपालको समृद्धिको लागि लगानी गर्नुपर्छ ।

यस्तै, संस्था स्थापना गरेका अध्यक्षहरुले गलत तथ्यहरुलाई हातमा नलिने हो भने संस्था राम्रो भएर जान्छ । त्यो बाटोमा पनि गएको छ, राम्रो हुन्छ भन्ने आशा र विश्वास पनि छ । हामीले हाम्रो तर्फबाट गर्ने काम गरिरहेका छौँ ।

नेपाल–अफ्रिका कुटनीतिक र व्यापारिक सम्बन्धलाई सुधार गर्नको लागि के के कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ ?
विशेषत दूताबासलाई नै बढाउनुपर्छ । अफ्रिकासँग धेरै कुराहरुमा सहकार्य गर्न सक्छौँ । लगानी, उद्योग, कृषि र विशेषगरी पर्यटनका विषयमा, कूटनीतिक उपस्थिति बढाउनुपर्छ र उनीहरुको कुटनीतिक उपस्थिति नेपालमा बढाउनुपर्छ ।

नेपालमा उत्पादित सामग्रीहरु धेरै मात्रामा अफ्रिका गएको थाहा छैन । हाम्रा उत्पादनहरु के हुनसक्छ भनेर सोच्नुपर्छ । जस्तै, भारत र चीनबाट धेरै कुराहरु अफ्रिकामा गएको हुन्छ । नेपाली कच्चा पदार्थ, नेपाली हर्बलहरुदेखि थुप्रै सम्भावनाहरु छन् । तीनिहरुलाई लान सक्नुपर्छ अथवा अफ्रिकाबाट पनि नेपालमा सोझै व्यापार हुने व्यवस्था गर्नुपर्छ । अहिले सबै भारत हुँदै ल्याउनुपर्ने अवस्था छ । साथै आयात र निर्यात गर्दा व्यापार पनि बढ्छ । यसका लागि सबैले पहल गर्नुपर्छ । एनआरएनएका तर्फबाट पनि पहल गरिरहेका छौँ । अफ्रिकामा केही नेपाली कम्पनीहरु खोल्न सुरु पनि भएका छन् । मैले पनि ठुलो लगानी ल्याउन खोजीरहेको थिए ।

अन्य कम्पनीहरु पनि नेपालमा आउन खोजिरहेका छन् । त्यसको लागि लगानीमैत्री वातावरण राज्यले बनाउनुपर्छ । सरकार सहयोगी र लगानीमैत्री छैन । यसमा ध्यान दिनुपर्छ । विदेशी प्रविधि, पुँजी ल्याउनैपर्छ । त्यसका लागि वातावरण बनाउनुपर्छ ।

राज्यले प्रत्यक्ष रुपमा लगानी गर्ने वातावरण पनि बनाउनुपर्छ । देशको आर्थिक सुधार नै व्यापार र उद्योगले हुन्छ भन्ने कुरा सरकारले बुझ्नुपर्ने हुन्छ ।

अन्त्यमा, तपाईंले देखे–भोगेको अफ्रिका र अरुले भन्ने गरेको अफ्रिकामा के फरक छ ?
भन्ने र सुन्ने गरेको अफ्रिकामा विल्कुलै फरक छ । एकदमै गरिबी, भोकमारी, युद्ध र द्वन्द्व मात्र छ भनेर बुझ्ने गरिन्छ । तर, देखेको र भोगेको अफ्रिका फरक छ । अहिले धेरै परिवर्तन आइसकेको छ । द्वन्द्वबाट पनि अगाडि बढिसकेको छ र समृद्धिमा पनि धेरै अगाडि बढेको छ । अफ्रिकामा सम्पन्न मानिसहरु पनि छन् । आर्थिक समृद्धि नै देश र नागरिकलाई चाहिने पहिलो कुरा हो भन्ने त्यहाँका धेरैजसो सरकारले बुझेका छन् । प्रयास गरिहरहेको छन् । जुन हाम्रोमा छैन । हाम्रोमा मात्र राजनीति कलह र सत्ता कुर्सीमात्रै छ । भिजन नै छैन । आर्थिक समृद्धिको उपाय बाटोको निम्ति प्रतिवद्धता अथवा त्यसका लागि सोच्दै सोचेको छैनौँ ।

आर्थिक समृद्धि पहिलो कुरा हुनुपर्छ । हामीसँग स्रोत छ साधन छ, सबै छ । अप्ठ्यारोबाट सिकेको पाठ मैले पनि त्यही हो । सम्भव हुँदो रहेछ । हाम्रोभन्दा बढी द्वन्द्व भएको ठाउँ वा बढी मानिस मारिएको ठाउँमा वा बढी गरिबी, कम स्रोत, साधन भएको ठाउँमा पनि सहज आर्थिक समृद्धि सम्भव छ । मैले सिकेको पनि यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *