भलिबल खेलको संरक्षण गर्न आवश्यक छ : अर्जुनप्रसाद तिवारी

हेटौँडा, ११ माघ । हेटौँडा उपमहानगरपालिका १२ का वडाध्यक्ष अर्जुनप्रसाद तिवारीले राष्ट्रिय खेल भलिबललाई संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार भएको पत्रकार भेटघाटलाई सम्बोधन गर्नुहुँदै वडाध्यक्ष तिवारीले भलिबलको संरक्षण आवश्यक रहेको भन्दै यसको लागि काम गर्ने बताउनुभयो ।

खेलकुद र खेलाडीको सम्मान हेटौँडा–१२ को पहिचान भन्ने नारालाई आत्मसात गर्दै भलिबलको संरक्षण र खेलाडी उत्पादनका लागि भलिबल प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता संयोजक मनोज लामा स्याङ्तानले बताउनुभयो ।

हेटौँडा १२ नम्बर वडाका खेलकुद विकास समिति संयोजक दिनेश चौलागाईंले भलिबल भूगोल सुहाउँदो खेल भएकाले तीन तहको सरकारले यसलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भलिबल राष्ट्रिय खेल हो । यस खेललाई सानो ठाउँ भए पुग्छ र जोखिम कम हुने भएकाले सजिलै खेलाडी उत्पादन गर्न सकिने हुन्छ । हाम्रो भूगोल सुहाउँदो खेल भएकाले तीन तहको सरकारले अरु खेललाई जस्तै यसलाई पनि बजेटको व्यवस्था गरेर प्रवद्र्धनमा लाग्न सके असल हुने थियो ।’

यहीँ माघ १६ गतेदेखि १९ गतेसम्म हेटौँडा १२ हात्तीगौडास्थित बुद्ध माविको चौरमा हुने भलिबल प्रतियोगितामा हेटौँडाका १९ वटै वडाबाट खेलाडीहरुले भाग लिन सक्ने जनाइएको छ ।

खेलमा प्रथम हुने टीमलाई ५० हजार, दोस्रोलाई ३० हजार, मेडल र ट्रफीद्वारा पुरस्कृत गरिने छ भने उत्कृष्ट विधाहरुलाई नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

आयोजक वडाको तर्फबाट १ लाख २५ हजार रुपैयाँ, प्रथम पुरस्कारको मुख्य प्रायोजक तुलसी मेहर मेमोरियल आवासीय मावि÷नारायणी कलेजले व्यहोर्ने जनाइएको छ भने अपुग रकम आयोजक टिमले आ– आफ्नै तर्फबाट फन्डरेज गरेर प्रतियोगिता गर्ने र प्रतियोगिता सम्पन्न गर्ने भनिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न ३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । पत्रकार भेटघाट कार्यक्रममा वडासदस्य महेश भट्टराई, वडा सचिव रामलाल थिङ्ग लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *